नैतिक पतन देखिने फौजदारी कसुर; कानुनी प्रावधान र सर्वोच्च अदालतबाट भएका व्याख्याहरु

अपराधको सामान्य परिचय

कुनै पनि कार्य गर्दा वा नगर्दा समाजमा त्यसको नकारात्मक असर पुग्दछ भने समाजले त्यसता किसिमका कार्यलाई सामाजिक मुल्य र मान्यताको आधारमा बहिस्कार गर्ने वा त्यस्ता कार्यलाई निरुत्साहित गर्ने कार्य गर्दछ। समाजलाई असर पर्ने वा कुनै व्यक्ति वा समुहको अधिकार माथि प्रत्यक्ष वा परोक्ष रुपमा असर गर्ने प्रकृतिका कार्यहरुलाई राज्यले फौजदारी कानुनको माध्यमबाट दण्डनीय बनाएको हुन्छ। यसरी राज्यको फौजदारी कानुन विपरितका कार्य वा अकर्मण्यता नै अपराध हुन्।

अर्को भाषामा भन्नु पर्दा राज्यले व्यक्तिलाई फौजदारी कानुनको माध्यमबाट केही कुरा गर्ने (जसलाई सकारात्मक कर्तव्य भनिन्छ) वा केही कुरा नगर्ने (जसलाई नकारात्मक कर्तव्य भनिन्छ) गरी निर्दिष्ट गरेको हुन्छ। त्यसरी राज्यको फौजदारी कानुनले निर्दिष्ट गरेको कर्तव्य पालना नगर्नु नै कानुनी अर्थमा अपराध हो यसको परिणाम दण्डात्मक हुने गर्दछ। अझ सरल भाषामा भन्ने हो भने प्रचलित कानुनले गर भनेको कार्य नगर्नु वा नगर भनेको कार्य गर्नु नै अपराध हो।

सामाजिक दृष्टिमा अपराध गैह्र सामाजिक कार्य (Anti- social activities) हो। समय र परिस्थिति अनुसार अपराधको दायरा र स्वरुप परिवर्तन हुँदै जान्छ। तर समाजिक रुपमा अस्वीकृत सबै कार्यहरु अपराध हुँदैनन्। अपराध हुनको लागि राज्यको कानुनद्वारा स्पष्ट निषेधित कार्य हुनु पर्दछ। अपराधको प्रकृति र स्वरुप समय, स्थान वा परिवेश विशेषको आधारमा फरक हुन सक्दछ। जस्तैः लागु औषध (नियन्त्रण) ऐन, २०३३ लागु हुनु पुर्व नेपालमा लागुऔषध कारोबार गर्नु वा सेवन गर्नु कसुरजन्य कार्य थिएन। मुलुकी ऐन जारीको महल कायम रँहदा अर्काकी श्रीमतीसँग वैवाहिक सम्बन्ध कायम गर्नु कसुरजन्य कार्य थियो भने सो महलको खारेजीसँगै सो कार्य कानुनसंगत ठहर भयो।

अपराध हुन मुख्यतः दुई वटा तत्वहरु अपरिहार्य हुन्छन्।

अपराधिक कार्य (Actus reus)

अपराधिक मनसाय (Mens rea) (निरपेक्ष दायित्वको (absolute liability)  अपराधमा अपराधिक मनसाय विना पनि कसुर स्थापित हुन सक्छ) 

कसुरको गम्भिरता निर्धारण गर्ने विभिन्न मापदण्ड मध्ये कसुर गर्ने व्यक्तिको मनसाय पनि एक हो। त्यसको अलवा कसुर गर्दाको परिस्थिती, उमेर, मानसिक अवस्था, परिणाम, कसुरदारले पार गरेको अपराधका चरणहरु, सो कसुरको कारण समाजमा परेको असर लगायत विषयहरुको आधारमा अपराधको गम्भिरता निर्धारण गर्ने गरिन्छ।

नैतिक पतन देखिने फौजदारी कसुर

कुनै पनि कसुर नैतिक पतन हुने कसुर हो वा होइन भन्ने कुरा कानुनमा स्पष्ट किटान गरेको अवस्थामा बाहेक न्यायलयको विवेक र विवेचनामा निर्भर गर्दछ। कुनै पनि नेपाल कानुनले स्पष्ट रुपमा ‘नैतिक पतन’ लाई परिभाषित वा सुचिकृत गरेको छैन। केही प्रचलित नेपाल कानुनमा नै निश्चित कसुरहरुलाई नैतिक पतन देखिने फौजदारी कसुरको रुपमा स्थापित गरिएको छ। यस बाहेक बिभिन्न मुद्धाहरुमा सम्मानित सर्वोच्च अदातलले के कस्ता कसुरहरुलाई नैतिक पतन देखिने कसुरको रुपमा हेर्ने भन्ने सन्दर्भमा विभिन्न व्याख्या गरेको र कानुनी सिद्धान्त प्रतिपादन गरेको पाइन्छ। कसुरको सजाय र नैतिक पतनको तात्विक सम्बन्ध रहेको हुँदैन। उदाहरणको लागि ज्यान सम्बन्धी कसुरमा सजायको हद धेरै भएता पनि यो नैतिक पतन देखिने कसुर नहुन सक्छ। के कस्ता कसुरलाई नैतिक पतन देखिने फौजदारी कसुरको रुपमा चित्रित गर्ने भन्नको लागि केही प्रचलित नेपाल कानुन र सर्वोच्च अदालतले गरेको व्याख्या र प्रतिपादन गरेको  कानुनी सिद्धान्तहरुको सहायता लिनु पर्ने हुन्छ।


नैतिक पतनको सम्बन्धमा केही नेपाल कानुनमा रहेका प्रावधानहरुः

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६७ को उपदफा (२) 

यस ऐन वा प्रचलित कानुन बमोजिम बाल यौन दुर्व्यवहारमा कसुरदार ठहरेको व्यक्तिले नैतिक पतन देखिने फौजदारी कसुर गरेको मानिनेछ।

लिखतहरूको गोप्यता सम्बन्धी ऐन, २०३९ दफा १२  उपदफा (२)

उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिम सजाय पाउने ठहरिएको कुनै व्यक्ति सरकारी वा सार्वजनिक संस्थाको कर्मचारी भै आफ्नो जिम्मामा वा कार्यालयमा रहेको लिखतको सम्बन्धमा सजायभागी ठहरिएको रहेछ भने निजले नैतिक पतन देखिने अभियोगमा सजाय पाएको मानिनेछ र निज आफ्नो सेवाको पदबाट भविष्यको लागि अयोग्य ठहरिने गरी स्वतः बर्खास्त हुनेछ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ दफा २२

यस ऐन बमोजिम कसुरमा अदालतमा मुद्धा दर्ता गर्दाका बखत सम्बन्धित सरकारी वकिलले अभियुक्तले नैतिक पतन देखिने फौजदारी कसुर गरेको हो भनी दाबी लिन सक्नेछ।

सर्वोच्च अदालतबाट नैतिक पतनका सम्बन्धमा भएका व्याख्याहरुः

वृषबहादुर राई विरुद्ध नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, विद्यालय शिक्षा शाखा काठमाडौं समेत (ने.का.प २०६७ अङ्क १० निर्णय नं. ८४८१ ) उत्प्रेषण


§  कुनै फौजदारी अपराध नैतिक पतन देखिने फौजदारी कसूर हुनका लागि सो कसूर निज कसूरदारको नैतिक आचरणसँग सम्बन्धित कार्य वा कसूर हो भनी ठोस आधार र वस्तुगत कारण हुनुपर्दछ । साथै सो कसूर गर्दा कसूरदारको आपराधिक मनसाय वा उद्देश्य, कसूर गर्दाको परिस्थिति, अवस्था र परिणाम तथा त्यसबाट समाजमा पर्नसक्ने प्रभाव समेतलाई विचार गर्नुपर्ने ।

§  कुनै कार्य नैतिक आचरणसँग सम्बन्धित कार्य वा कसूर हो भन्ने कुरा व्यक्ति वा समाजको परिवेश, अवस्था, विचार र दृष्टिकोणमा पनि आधारित हुन्छ । फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची होइन । कानूनले दुबैलाई पर्यायवाची मानेको भए फौजदारी अपराधमा नैतिक पतन देखिने भन्ने विशेषण लगाउनु आवश्यक हुने थिएन । नैतिक पतन देखिने कसूरलाई कुनै कानूनद्वारा परिभाषित गरिएको नभए पनि सो कसूर सामान्य फौजदारी कसूरभन्दा पृथक र सामान्य समझ (Ordinary Prudence) भएका व्यक्तिको दृष्टिकोणमा नैतिकता, आचरण, तथा मानिसको चरित्रलाई गिराउने र धमिलो पार्ने, दाग लगाउने किसिमका कसूर हो भनी बुझ्नुपर्ने ।

§  दुई पक्षबीच झैझगडा भई मानिसको मृत्यु भएको कारणबाट फौजदारी मुद्दा चलेको र सो फौजदारी मुद्दामा सजाय पाएको परिस्थितिमा चलेको ज्यान मुद्दालाई नैतिक पतन देखिने कसूर हो भनी कुनै दृष्टिकोणले भन्न नमिल्ने ।


हरिनाथ प्रसाद विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत (ने.का.प. २०६९, अङ्क ७,निर्णय नं. ८८५६) उत्प्रेषण समेत 

§  केन्द्रीय प्रहरी विशेष अदालतबाट प्रहरी ऐन, २०१२ को दफा ३४ को खण्ड (ग) बमोजिमको कसूर गरेको ठहरी दफा ३४ बमोजिम जरीवानाको सजाय भएकोमा उक्त खण्ड (ग) मा आफु माथिको प्रहरी कर्मचारीले दिएको कानूनी उर्दी नमानेमा भन्ने उल्लेख भएकोले माथिल्लो तहबाट दिइएको आदेश वा उर्दी नमानेको कार्यलाई नैतिक पतन देखिने कसूर मान्न मिल्ने कुनै कानूनी र विवेकसम्मत आधार नदेखिने ।

§  प्रहरी ऐनअनुसार कैदको सजाय पाएको अवस्था भिन्नै हो र नैतिक पतन देखिने कसूरमा अदालतबाट सजाय पाएको अवस्था भिन्नै भएकाले प्रहरी ऐनको कसूरमा कैद सजाय पाएकोलाई नैतिक पतन देखिने कसूरमा सजाय पाएको सम्झन नमिल्ने र त्यसै गरी अदालतबाट कुनै अन्य ऐनअन्तर्गतको नैतिक पतन देखिने अभियोगमा सजाय पाएकोलाई प्रहरी ऐनअन्तर्गत कैद सजाय पाएको भनी मान्न नमिल्ने ।

§  जरिवानाको मात्र सजाय भएको कुरालाई नैतिक पतन देखिने फौजदारी कसूर गरेको मानी सुनुवाइको मौका समेत प्रदान नगरी सेवाबाट बर्खास्त गर्दा कानूनी त्रुटिपूर्ण हुने ।


अम्बरबहादुर पाण्डे क्षेत्री समेत विरूद्ध नरबहादुर पाण्डे क्षेत्री (नेकाप २०३० ,नि.नं ७७४) तिरो जग्गा

(क)  ज्यान मुद्दामा सजाय पाउँदैमा सो सजाय पाएको अपराध के कस्तो थियो, के कस्तो अवस्थामा ज्यान मारेको थियो इत्यादी कुराको विचार, नगरी नैतिक पतन देखिने फौज्दारी अपराध गरेको दोष लगाउन नमिल्ने ।

(ख)  चोरी डाँका गरी मारेको अभियोगमा सावित भए त्यस्तो अपराध कुनै नैतिकताको विरोधको अपराध हो भन्ने कुरा कुनै विवादै गर्न नसकिने ।

      कुनै एउटा परिस्थितिमा अनैतिकमा लिने कुनै काम अर्को परिस्थितिमा उचित ठहर्छ वा अनैतिक नमानिने पनि सक्दछ । तसर्थ समाजको नैतिक मूल्य वा आदेशलाई कुनै निरपेक्ष र अपरिवर्तनीय विषयबस्तु जस्तो गरी कुनै एउटा समाजमा कायम रहेको नैतिक मूल्य वा आदेशको आधारमा सधैं र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौज्दारी अपराधको किटुवा सूची तयार गरी तपस्परष्टकरण वा परिभाषा दिन खोज्नु उचित होइन यहि कुरालाई ध्यानमा राखी हाम्रो कानूनी व्यवस्थाले त्यस्तो अपराध छुटाउने कार्य न्यायिक विवेकमा छोडेको हुनाले न्यायकर्ताले पनि विषय र सन्दर्भलाई विचार गरेरमात्र त्यस सम्बन्धमा कुनै निष्कर्षमा पुग्नु  पर्छ ।

राम एकवाल साह विरुद्ध जिल्ला शिक्षा कार्यालय बारा कलैया समेत (ने.का.प.२०६० अङ्क ५.६ नि.नं ७२१५)

§  चलनचल्तीको अर्थमा नैतिक पतन भन्नाले स्वच्छ र असल नैतिक चरित्रको विपरीत चरित्र हुनु, इमान्दारिता रहित सामाजिक अस्मिता विरुद्धको चरित्र हुनु जस्तो कुरालाई जनाउँछ । यस शब्दावलीको प्रयोग विशेषतः नीच, अधम, चरित्रहीनता तथा दूराचारीताको लागि हुने गरेको भएतापनि यथार्थमा यस शब्द भित्र नैतिकतासंग सम्वन्धित व्यापक र विविध प्रकृतिको अवधारणाहरु पर्नसक्ने हुँदा सबै सामाजिक परिप्रेक्ष्य, सबै प्रयोजन र स्थितिको लागि यस शब्दलाई परिभाषित गर्न सम्भव नदेखिने ।

§  मुलुकी ऐन ज्यान सम्वन्धीको महल अन्तर्गतको प्रत्येक मुद्दामा सो मुद्दासंग सम्वन्धित वारदातको स्वरुप तथा सन्दर्भतर्फ विचारै नगरी सो मुद्दासंग सम्वन्धित व्यक्तिको चरित्र वा नैतिकताको प्रश्न उठाउनु न्यायोचित नहुने ।

§  रिट निवेदक पुर्पक्षको लागि थुनामा राखिएको व्यक्तिसम्म हुँदा निजलाई सामान्य नागरिक भन्दा घटिया चरित्रको व्यक्ति भनी कुनै किसिमको कलङ्क निज उपर रहेको नदेखिने ।

§  कुनै नियोजित वा मनसाययुक्त किसिमले ज्यान मारेको वा आर्थिक वा अन्य कुनै उद्देश्य पूर्तिको लागि ज्यान मारेको भन्ने समेत नदेखिएको तथा अभियोग लागेको ज्यान मुद्दावाट निजले सफाइ समेत पाइसकेको स्थिति हुँदा निजलाई नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति मान्न नमिल्ने ।


अछाममा कार्यरत प्रहरीहरूद्वारा महिला प्रहरी माथि भएको सामूहिक वलात्कार विरुद्धको संयुक्त संघर्ष समितिका तर्फबाट ऐ.का.सदस्य भै आफ्नो हकमा समेत कानून व्यवसायी अधिवक्ता ज्योती लम्साल पौडेल विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत (नेकाप २०६७ अंक ११ नि.नं ८५०७)

महिलालाई इच्छाविपरीत अनतिक्रम्य शरीरको पवित्रताको अपहरण गरी जवरजस्ती करणी गर्नु कानूनविपरीत मात्र नभई गम्भीर अपराध पनि भएकाले सभ्य मानव समाजले यस्तो कार्यलाई नैतिकताविहीन कार्य मान्दछ । यस्तो नैतिकताविपरीतको कार्यलाई नै नैतिक पतन देखिने फौजदारी अपराध मान्नुपर्ने ।

 लाक्पा तामाङ विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौं समेत (नेकाप २०७३, अंक १० नि.नं ९७०६)

 नैतिकताको विषय सामाजिक मान्यता र सोच तथा न्यायसँग जोडिएको विषय देखिन्छ । अर्थात्‌् समाजले के कुरालाई असल, सत्ताचरित्र मान्छ र के कुरालाई खराब कार्य भनी तिरस्कार गर्छ सो हेरिनु पर्ने हुन्छ । चलन चल्तीको अर्थमा नैतिक पतन भन्नाले स्वच्छ र असल नैतिक चरित्रको विपरीत हुनु, इमान्दारितारहित सामाजिक अस्मिता विरूद्धको चरित्र हुनु जस्तो कुरालाई जनाउँछ । (ने.का.प. २०६०, नि.नं. ७२१५, पृष्ठ ३६८) नैतिक पतनको अर्थ नैतिकताको सतहबाट गर्नु हुन्छ। कुनै नीच, चरित्रहीन वा दुराचारपूर्ण कार्य गर्नु नैतिकता विरूद्ध हुन्छ

Comments